सरकारले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेगरी निजामती कर्मचारी प्रशासनभित्र नै छुट्टै ‘सूचना प्रविधि सेवा’ थप गर्ने भएको छ । यस क्षेत्रमा कार्यरत जनशक्तिलाई व्यवस्थापन गर्न र सेवालाई आकर्षक बनाउनका लागि त्यस्तो सेवा थप गर्न लागिएको हो ।

आजदेखि यहाँ सुरु भएको ‘डिजिटल नेपाल कन्क्लेभ’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ निजामती विधेयकमा अन्य सेवा जस्तै सूचना प्रविधि सेवा थप गर्न लागिएको जानकारी दिनुभयो ।

विद्यमान निजामती प्रशासनभित्र सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने जनशक्ति भए पनि सेवामा विविधीकरण नहुँदा कार्यसम्पादनमा समेत असर परेकाले सरकारले त्यस्तो सोच बनाएको मन्त्री शर्माले बताउनुभयो ।

उहाँले प्रविधिका क्षेत्रमा भएको विकास तथा विस्तारलाई मुलुकको आर्थिक समृद्धि र नागरिकको सहजताका लागि नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई सरकारले आत्मसात् गरेको बताउनुभयो ।

निजामती प्रशासनभित्र स्थापना हुने त्यस्तो सेवामा कार्यरत कर्मचारीका लागि विशेष तालिम तथा प्रशिक्षणको व्यवस्थासमेत गरिनेछ । संशोधनका लागि अन्तिम चरणमा पुगेको निजामती विधेयकमा त्यस्तो विशिष्टिकृत सेवा थप गर्दा त्यसको लाभ आमनागरिकले लिन पाउने मन्त्री शर्माको भनाइ छ ।

उहाँले सरकारी निकायका कामकारबाहीलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रको सहकार्य हुनेगरी ‘हाइब्रिड मोडल’ अपनाइने र यसरी सेवा प्रवेश गर्ने कर्मचारीलाई थप सेवासुविधा दिइ सरकारको कामलाई परिणाममुखी र जनता केन्द्रित बनाइने बताउनुभयो ।रासस