नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा लोपोन्मुख डङ्गर जातका गिद्ध मृत फेला परेका छन् । जिल्लाको कावासोती नगरपालिका–३, स्थित नमूना सदरमुकामको केरुङ्गे खोला नजिक चारवटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो ।

आज साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन् । गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताउनुभयो । “चारवटा गिद्ध मृत भेटिएका छन्, विषाक्त खानाकै कारण मरेको अनुमान छ”, संरक्षणकर्मी चौधरीले भन्नुभयो । साँझको समय भएको र चारवटा गिद्ध फेला परेको भए पनि अन्य गिद्धसमेत मरेको हुन सक्ने उहाँले बताउनुभयो ।

गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । गिद्ध मरेको विषयमा पशु प्राविधिकले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । गएको फागुन महिनामा समेत यसै क्षेत्रमा स्यालको विषाक्त मासु खाएर पाँचवटा गिद्ध मरेका थिए । नमूना सदरमुकाम निर्माण स्थल क्षेत्रमा रहेका सिमलका रूखमा गिद्धको बासस्थान रहेको छ ।

हाल गिद्ध मरेको स्थान गिद्ध संरक्षण गरिएको जटायु रेष्टुरेन्टदेखि करिब छ किलोमिटरको दूरीमा समेत पर्दछ । कावासोतीकै पिठौलीमा गिद्ध संरक्षण गरिएको छ । संरक्षण गरिएका गिद्धको आहार विहार गर्ने स्थान नजिक पटक पटक गिद्ध मर्दा संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी एवं जटायु रेष्टुरेन्टका व्यवस्थापक डिबी चौधरीले बताउनुभयो । रासस