म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ । जिल्लास्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका एक सय २० घरधुरी लाभान्वित भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले मिटर जडित निजी धारामार्फत सबै उपभोक्ताको घरघरमा खानेपानी वितरण गरिएको बताउनुभयो । ओखलेपानी, खरिपानी र तुसारेपानीको मुहानबाट ल्याइएको पानी ७५ हजार लिटर, बीस हजार लिटर र १६ हजार लिटर क्षमताको तीन वटा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी पाइपलाइनमार्फत घरघरमा रहेका धारामा आपूर्ति गरिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीका अनुसार साविक पिप्ले गाविस–४ मा पर्ने रानीपौवा, बस्नेगौडा, घारराखर्क, खरिपानी टोलमा ‘एक घर, एक धारा’ योजनाअन्तर्गत धारा निर्माण गरी पानी वितरण गरिएको हो ।

सुमन पौडेलले खानेपानी आयोजना निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको बताउनुभयो । “सार्वजनिक धाराबाट वितरण हुँदै आउको पुरानो आयोजनाबाट पर्याप्त पानी आपूर्ति नहुने समस्याले सास्ती भएको थियो,” उहाँले भन्नुभयो “घरकै धारामा पानी आउन थालेपछि समयको बचत, सरसफाइमा सहयोग र दैनिकिमा सुधार भएको छ ।”

विसं २०७४ मा सुरु भएको उक्त आयोजना सङ्घ र प्रदेश सरकारका निकायमध्ये कसले कार्यान्वयन गर्ने भन्ने विवादले गत वर्षसम्म अलपत्र परेको थियो । कूल रू एक करोड ३६ लाख लागत अनुमान गरिएको आयोजनाका लागि विसं २०७७ सम्म वार्षिक रू दुई देखि तीन लाखका दरले बजेट विनियोजन भए पनि निर्माण सम्पन्न हुन सकेको थिएन् ।रासस