नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

अध्यक्ष कुँवरले चार सय ४१ मत प्राप्त गर्दा यादवले तीन सय ८६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजङ्ग कार्कीले चार सय ६९, उपाध्यक्ष खुलातर्फ गणेशबहादुर केसीले चार सय ३८, ज्योति कोइरालाले चार सय १८, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनालले तीन सय ९२, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापाले चार सय १२, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठले तीन सय ७५, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) राजेश पालिखेले तीन सय ८६ मत ल्याई विजयी हुनुभएको छ ।

यस्तै महासचिवमा अजयकुमार राईले चार सय ६४, उपमहासचिव (खुला) बलदेव तामाङले चार सय ६९, जनार्दन भट्टराईले चार सय २८, महिला उपमहासचिव सुशीला घिमिरेले चार सय ३५, उपमहासचिव (सेवा) देवदत्त बडुले चार सय ५७, उपमहासचिव (उत्पादन) कुलबहादुर खड्काले चार सय १६, उपमहासचिव(अनौपचारिक तथा स्वरोजगार) रुक्मणि थापा (अर्चना)ले तीन सय ७६, कोषाध्यक्षमा सञ्जयकुमार दाहालले चार सय २१ र सहकोषाध्यक्षमा रशमाया गुरुङले तीन सय ९८ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।रासस