सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो ।

काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्न सक्दैनथे । बर्खामा खच्चडकै भरमा सामग्री ढुवानीको विकल्प थिएन । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घन्टा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म मुस्किलले एक घन्टामा पुग्ने बाटोमा सडक स्तरोन्नति भएर ग्राभेल भएसँगै अहिले २० मिनेटमै पुग्न सकिन्छ ।

विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले बताउनुभयो । खड्काले सडक खुलेको चार वर्षसम्म ट्र्याक्टर गुड्न नसक्ने सिगानाको सडकमा अहिले ट्याक्सी, बस र टेम्पो गुड्न थालेको बताउनुभयो ।

“सिगानामा सडक ल्याउन सुरुआती काम आफैँबाट भएको थियो, अहिले त सडकका घुम्ती ढलान भइसकेका छन्, बाँकी भागमा कालोपत्र गर्ने सुरसार छ”, खड्काले भन्नुभयो, “वडा कार्यालयसम्म एक घन्टामा मुस्किलले पुग्न सकिने सडकमा अहिले २० मिनेटमै सररर आउन सकिन्छ, यस्तै सडक बौडेचौरसम्म पु¥याउन आवश्यक छ ।”

सिगानाको यात्रा सहज भए पनि भाडादर भने बढ्दै गएको उहाँले गुनासो गर्नुभयो । अहिले वडा कार्यालयसम्म २० मिनेटमा पुगिने यात्रामा रु दुई सय ५० भाडादर छ । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान भएपछि सिगानाको यात्रा छोटिएको हो ।रासस