नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् ।

बैंकले किसानलाई ऋण नदिँदा किसानले चल्ला र दाना किनेर कुखुरा पाल्न सक्ने अवस्था नरहेको उपाध्यक्ष पोखरेल बताउनुभयो । उहाँले भन्नुभयो,“किसानले गरेको उत्पादनको मूल्य राम्रो छ, तर किसानले चल्ला हाल्नसक्ने अवस्था छैन । तीन चार वर्ष घाटा खाएका किसान फेरि घाटामा परिन्छ कि भन्ने डरले कुखुरा पाल्न सकेका छैनन् ।” बजारको माग अनुसारको उत्पादन नहुँदा देशभर कुखुराको मासुको अभाव भएको उहाँले जानकारी दिनुभयो । “ह्चारी र दाना उद्योगबाट किसानले एक दुई महिनाका लागि उद्यारो पाउने गथ्र्ये, उहाँले भन्नुभयो,“अहिले नगद बिना कारोबार हुनै छाड्यो, त्यस कारण पनि किसानले कुखुरा पाल्न सक्ने अवस्था छैन ।” अहिले व्यावसायिक रुपमा स्थापना गरिएको ठूला फर्मले मात्र कुखुरा पालेको उपाध्यक्ष पोखरेल बताउनुभयो ।

उहाँले सरकारले किसानको मनोवल उच्च बनाउने योजना र कार्यक्रम ल्याउन नसके पोल्ट्री क्षेत्र थप धरासायी बन्ने बताउनुभयो । आर्थिक मन्दिलगायतका कारणले नेपालमा कुखुराको मासु उत्पादन र खपत दुवै घटेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले जानकारी दिनुभयो ।

दैनिक १० लाख केजी कुखुराको मासु उत्पादन हुने गरेको नेपालमा अहिले घटेर दैनिक ६ लाख केजी मात्र उत्पादन हुने गरेको उहाँको भनाइ छ । उहाँले नेपालमा मासुको उत्पादनसँगै खपत पनि घटेको बताउनुभयो । नेपालमा कुखुरा पाल्ने ३० हजार किसानमध्ये आधा घटेको उहाँले जानकारी दिनुभयो । रासस