म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोताँै खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम ल्याउन लागिएको जानकारी गराइएको हो ।
सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बसाइँसराइ र वैदेशिक रोजगारका कारण गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय सम्भावनाको खोजी र उजागरका विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको बताउनुभयो । मालिकाले ‘खाऔँ आफ्नो बारीको नखाऔँ सीमापारिको’ भन्ने नाराका साथ उच्च मूल्यका फलफूल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरेर व्यावसायिक कृषि कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ ।
कृषि उपजको आयात प्रतिस्थापन गर्न र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने अध्यक्ष गर्बुजाले बताउनुभयो । गाउँपालिकाले ‘युवाको ऊर्जा मालिकाको औजार’ कार्यक्रमअन्तर्गत बाँझो जग्गा सदुपयोगका लागि तालिम, औजार, उपकरण र प्रविधि हस्तान्तरणसँगै सामुदायिक विद्यालयहरूको दिवा खाजामा रैथाने उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।
वैदेशिक रोजगारबाट फर्केका युवाले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि प्रोत्साहन गर्ने नीति लिएको मालिका गाउँपालिकाले स्थानीय रक्सीको रूपमा परिचित घरेलु मदिरालाई ब्राण्डिङ गर्न र गाँजाखेतीको सम्भाव्यता अध्ययन र अनुसन्धान गर्ने भएको छ । गाउँपालिकाले भाँगो, टुसा, निउरो, टिमुर, सिस्नो, कोदो, उवा, जाँै, फापरलगायतका स्थानीय उत्पादनको प्रोत्साहन र बाण्डिङमा समेत सघाउने भएको छ । रासस