नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास, काठमाडौँले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रङ्गशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरिएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् “एक विश्व एक परिवार सबैको कल्याणका लागि योग” रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र सो क्षेत्रका दुई हजारभन्दा बढी योग पारखीको सो कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा मन्त्री किरातीले मानव जातिको कल्याणका लागि योगलाई विश्वले नै साझा सम्पत्तिका रुपमा अपनाएको र यो लोकप्रिय हुँदै गइरहेको बताउनुभयो । उहाँले हरेक वर्ष हिमाल अग्लिए जस्तै भारत–नेपालको सम्बन्धले पनि नयाँ उचाइ हासिल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणले यस सम्बन्धमा नयाँ कोसेढुङ्गा कायम गरेको मन्त्री किरातीले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरालाई रोजेकामा भारतीय राजदूतावासलाई धन्यवाद दिनुभयो । उहाँले सारा विश्वले योगलाई मानसिक शान्ति, खुसी र मानवजगतको शान्तिको माध्यमका रुपमा स्वीकारेको बताउनुभयो । दर्शन, सभ्यता र संस्कृतिले भारत–नेपाल सम्बन्धलाई सदियौँदेखि परिभाषित गरेको उल्लेख गर्दै उहाँले पोखरामा रहेका महत्वपूर्ण धार्मिक क्षेत्र योग अभ्यासका लागि केन्द्र बन्नसक्ने बताउनुभयो ।रासस