भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।
सरकारको विभिन्न निकाय तथा वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बाँस्तोलाले बताउनुभयो । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको किसान उहाँको भनाइ छ । “स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पादन भएको तरकारी स्थानीय हाटबजारसँगै भोजपुर बजार जाने गरेको छ ।”
वडा कार्यालयले प्राविधिक सहयोगसँगै माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको उहाँको भनाइ छ । आधुनिक प्रविधिअनुसार खेती गर्दा राम्रो उत्पादन हुने किसान बाँस्तोलाले बताउनुभयो । “खेती गर्छु भनेर मात्र पनि हुन्नरहेछ”, उहाँले भन्नुभयो, “कृषिसम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ । रोग कीराका विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।”
वडा कार्यालयले व्यावसायिकरूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदान सहयोग गर्दै आएको जनाएको छ । भौगोलिकरूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने उहाँको भनाइ छ ।रासस