प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।
बैठकमा अर्थ, सहरी विकास, खानेपानी, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथिको छलफल चलिरहेको छ । मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले आ–आफ्नो धारणा राख्नुभएको छ ।
आजको बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटले सन्तुलित विकासको नीति अवलम्बन गर्न नसकेको र धेरैवटा आयोजनालाई बजेट छरेको धारणा राख्नुभयो । सन्तुलित विकासका लागि कर्णाली, मधेस र सुदूरपश्चिम क्षेत्रको विकासमा जोड दिइनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै, बजेटमा संशोधन नहुने हो भने मन्त्रालयगत छलफलको औचित्य नहुने उहाँले बताउनुभयो । ‘एक घरः एक धारा’ को नीति कार्यान्वयनमा लागि बजेटले पर्याप्त ध्यान दिनुपर्ने कार्कीको भनाइ छ । “हामीले खानेपानीको क्षेत्रमा आशातित प्रगति गर्न सकेका छैनौँ । स्वच्छ खानेपानी हाम्रो जीवन पद्धतिसँग जोडिएको विषय भएका कारण ‘एक घरः एक स्वच्छ खानेपानी धारा’लाई नारामा मात्रै सीमित नराखियोस् । यसलाई कसरी सफल बनाउन सकिन्छ त्यसबारे सोचौँ”, उहाँले भन्नुभयो । अहिले कनिका छरेकोजस्तो बजेट विनियोजनले एक घरः एक धारा अभियानलाई पूर्णता दिन सक्ने नदेखिएको उहाँको भनाइ छ ।
सांसद छविलाल विश्वकर्माले सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक विनियोजनमा तादत्म्यता मिल्न नसकेको बताउनुभयो । त्यस्तै, विषयगत मन्त्रालयले अगाडि सारेका प्रस्ताव पनि वार्षिक बजेटमा नअटाएको देखिएको उहाँको भनाइ छ । तीन तहका सरकारले कार्यान्वयन गर्ने कतिपय आयोजनामा दोहोरोपना देखिएको र तादत्म्यता नमिलेको सांसद विश्वकर्माको भनाइ छ । जनता आवास कार्यक्रमको प्रभावकारिता देखिन नसकेको उहाँको भनाइ छ ।रासस