कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा (३) बमोजिम उक्त आयोगको आर्थिक वर्ष २०७८÷८९ को चौथो वार्षिक प्रतिवेदन सदस्य रेणुदेवी साहले बुझाउनुभएको हो ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको विकासका लागि समानुपातिक सहभागिता जुटाएर आगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानमा उल्लेख भएअनुसार लोकतन्त्र, गणतन्त्र एवम् धर्म निरपेक्षता बलियो बनाए मुलुक सुदृढ र समृद्ध हुने चर्चा गर्नुभयो ।
प्रदेश प्रमुख खापुङले हिमाल, पहाड र तराईमा बसोबास गर्ने बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक जातिको सम्बन्धलाई ध्यानमा राखी आयोगले प्रतिवेदन तयार गरेकामा खुसी व्यक्त गर्नुभयो । सदस्य साहले दुई वर्षको मेहनतका साथ मधेसमा बस्ने जातिजातिको तथ्याङ्क र मधेसमा महिला हिंसाको उजुरी अत्यधिक भएको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो ।रासस