विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षमाथिको छलफल सकिएको छ ।
छलफलमा भाग लिँदै सांसद लालवीर चौधरीले खेतीपातीको समयमा रासायनिक मल नपाएकाले तत्काल उपलब्ध गराउन माग गर्नुभयो । रासायनिक मलका लागि सरकारले रु ३० अर्ब बराबरको बजेट विनियोजन गरिएकाले त्यसलाई उचितरुपमा मल आयातको प्रबन्ध गर्न माग गर्नुभयो ।
सांसद अमरेशकुमार सिंहले काठमाडौँ उपत्यकाभित्र खुल्ला स्थान क्रमशः मासिँदै गएकाले मानव जीवन प्रभावित भएकाले अब बन्ने स्मार्ट सिटीलाई भने व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद अर्जुननरसिंह केसीले सहरी क्षेत्रका विकासका लागि नगर विकास एकीकृत परियोजना विगतमा नै सुरु भएको तथ्य पेश गर्दै सो योजनामा निरन्तरता नपाएकाले सहरी क्षेत्रमा विकास निर्माणको काम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले सीमान्तकृत, उपेक्षित समुदायको सामुदायिक सुरक्षा, न्यायको प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभयो ।रासस