बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताउनुभयो ।
तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ । “विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन”, सुनिताले भन्नुभयो, “अहिले घर न घाटको भएकी छु । श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।”
सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहनुभएको छ । “श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु । उहाँसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गर्छु”, उहाँले भन्नुभयो, “मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ । विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन ।”
अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताउनुभयो । “वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकँे कतैबाट आश्वासन आएन”, उहाँले भन्नुभयो, “जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ? भन्दै घर फर्किनुहुन्छ ।रासस