पछिल्लो दुई महिनायता पर्वतमा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्रगतिमा फैलिएको छ ।

यहाँका सातवटै पालिकामा ‘लम्पी स्किन’ फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् । गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगराको सिरुबारीमा किसानले पालेको एउटा गोरुमा उक्त रोग देखा परेको थियो । उक्त गोरुलाई आइसोलेशनमा राखी उपचार गरिएको थियो । उपचार पश्चात उक्त गोरुमा लागेको रोग १६ दिनमा निको भयो । भँगरासँगै त्यसपछि वडा नं ६ देवीस्थानमा पनि लम्पी स्किन रोग देखिन थाल्यो ।

देवीस्थानलगायत क्रमशः अहिले यो रोग जिल्लाभर फैलिएको छ । फलेवास नगरपालिकाका पशु विकास शाखा प्रमुख प्रताप पौडेलका अनुसार फलेवासमा तीन सयभन्दा बढी गाईगोरुमा यो रोग देखा परेको छ । हालसम्म पाँच गाई मरेका छन् । पौडेलका अनुसार भैँसीमा यो रोग हालसम्म देखा परेको छैन ।

फलेवास नपाले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक बजेट रकमान्तर गरेको छ । नगरपालिकाले पशु विकास शाखाअन्तर्गत आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रममार्फत रु तीन लाख विनियोजन गरेर काम गदै आएको शाखाले लम्पी स्किन रोग बढेसँगै बजेट अभाव भएपछि सङ्घीय राजस्व बाँडफाँड शीर्षकबाट थप रु पाँच लाख विनियोजन गरेको हो ।

सुरुको चरणमा पशु विकास शाखामार्फत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले रोग नियन्त्रणका लागि फिनेल, भिर्कोन लगायतका रसायन निःशुल्क वितरण गरिसकेको छ । नेपालमा सुरुवाती चरणमा लम्पी स्किन रोगका लागि खोपको मान्यता थिएन । वैशाखको अन्तिमतिर स्वीकृत पाएसँगै नगरपालिकाले निःशुल्क खोप खरिदका लागि बजेट विनियोजन गरेको पौडेलले बताउनुभयो । रासस