हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताउनुभयो ।

विसं २०६८ मै पुल निर्माण सुरु भएको हो । पुल निर्माण सुरुको १२ वर्षपछि बल्ल काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सुरुमा ठेक्का लिएको ठेकेदार कम्पनीको लापारवाहीले पुल निर्माण ढिलो भएको उहाँको भनाइ छ । उहाँका अनुसार दुई वर्षअघि पुल निर्माणको काम पप्पु जेभीको पार्टनर महादेव खिम्तीले लिएको छ ।

उहाँले खोलामा पानीको बहाव छ महिनासम्म बढी हुने भएको कारण पुलको निर्माणमा ढिलाइ भएको बताउनुभयो । “वर्षा सुरु हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्छ । नदीमा पानी बढी भएको बेला काम गर्न सकिँदैन । वर्षमा छ महिनामात्र काम हुने हुँदा र ठेकेदारको ढिलासुस्तीले गर्दा झनै ढिलो भइरहेको छ ।”

इन्जिनियर खतिवडाले पुलको ९८ प्रतिशत काम सकिँदा भने वित्तीय प्रगति ७० प्रतिशतमात्र भएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना भएता पनि आर्थिक स्रोतको सुनिश्चित नहुँदा वित्तीय प्रगति कम भएको हो । उहाँले रु ३६ करोड बढीको लागतमा निर्माण भइरहेका पुलमाथि १९ वटा स्लाब लगाउनुपर्नेमा ११ लगाइसकिएको र बाँकी आठवटा लगाउने काम भइरहेको बताउनुभयो ।

“विगतको तुलनामा ठेकेदार कम्पनीको काम अलि स्लो भयो”, उहाँले भन्नुभयो, “सकेसम्म असार मसान्त नभए पनि भदौ असोजदेखि पुलमाथिबाटै सवारी कुद्ने वातावरण बन्छ”, समयमै पुल नबन्दा प्रत्येक वर्ष वर्षात्को समयमा स्थानीयवासीले बाँसको टाटीको अस्थायी पुल बनाएर खोलाबाट आवतजावत गर्र्दै आएका छन् ।

उहाँले सो सडकमा पर्ने कनकाई नदी र रतुवा खोलामा समेत पुल निर्माणको काम धमाधम भइरहेको बताउनुभयो । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला साना नदी छन् । जसमध्ये कन्काई, विरिङ र रतुवा नदीबाहेक अन्यमा पुल निर्माणको कार्य सम्पन्न भइसकेको इन्जिनियर खतिवडाले जानकारी दिनुभयो ।रासस