सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको भरतपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीका अनुसार महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको ५०१ सदस्यीय मूलसमिति बनाइएको छ ।

दाहाल नै संयोजक रहेको पाँच सदस्यीय निर्देशन समिति छ । यो समितिमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्य सचिवमा पर्यटन विज्ञ सुवेदी हुनुहुन्छ । उपप्रमुख अधिकारी संयोजक रहेको कार्यसम्पादन समिति बन्दैछ । विभिन्न उपसमिति बन्ने क्रममा छन् । कतिपय समितिले काम थालेका छन् । भ्रमण वर्षको लोगो तयार भइसकेको छ भने नारा तयहुँदै गरेको सुवेदीले जानकारी दिनुभयो । सूचनाका लागि ब्रोसर, वृत्तचित्र र एप बन्दैछ । सङ्घ र प्रदेशमा विभिन्न प्रस्ताव पेस गरिएको छ ।

महानगर प्रमुख दाहालले महानगरको गन्तव्य राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, पर्यटकको सङ्ख्या र बसाइँअवधि वृद्धि गर्न भ्रमण वर्ष मनाउन लागिएको बताउनुभयो । उहाँले महानगरभित्रका नयाँ गन्तव्य पहिचान गरी प्रचारप्रसार गरिने जानकारी दिनुभयो । महानगरभित्रका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र सौन्दर्यकरण गरिने दाहालको भनाइ छ । उहाँले भन्नुभयो “भ्रमण वर्षका अवसरमा सङ्घ, प्रदेश र राष्ट्रियस्तरका ५० भन्दा बढी कार्यक्रम गर्ने योजनामा छौँ ।” भरतपुर देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको भन्दै उहाँले भ्रमण वर्षको कार्यक्रमले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो ।रासस