प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
वर्षाको समयमा प्रणालीमा समस्या आउनु स्वाभाविक भए पनि मध्य र पश्चिम नेपालका केही जिल्लामा अस्वाभाविक जस्तो लाग्ने समस्या देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
देशव्यापी रूपमा गर्मी बढेका कारण बिजुलीको माग अत्यधिक बढेकाले पनि प्रणालीमा केही जटिलता आएको र त्यसको समाधानका लागि अनेकन प्रयास गरिएको उहाँको भनाइ छ ।
प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “प्रसारण लाइन, वितरण प्रणाली तथा सवस्टेशन निर्माणमा भइरहेको ढिलाइका कारण पनि समस्या थपिँदै गएको छ । यसको समाधानका लागि प्राधिकरण एक्लैले केही काम गर्न सक्दैन । सबैको साथ र सहयोग जरुरी छ ।”
वन क्षेत्रको जग्गा प्रयोगको स्वीकृतिका लागि वर्षौं लाग्ने गरेको यथार्थ पेस गर्दै उहाँले सरोकार भएका निकायले यो सबै काम प्राधिकरणको मात्रै हो भनेर पन्छने गरेकामा आपत्ति प्रकट गर्नुभयो ।
प्रसारण लाइन निर्माणमा स्थानीयवासीको अवरोध सबैभन्दा जटिल रहेको जानकारी दिँदै उहाँले मन्त्रिपरिषद्ले गरेको निर्णयसमेत वन तथा वातावरण मन्त्रालय र मातहतका निकायले कार्यान्वयन नगरिदँदा बिजुली भएर पनि दिन नसकिएको गुनासो गर्नुभयो ।रासस
