०२ असार, काठमाडाैं ।

लेखक डा बुद्धि मल्लद्वारा लिखित पुस्तक ‘सफलता सम्भव छ’ को आज लोकार्पण गरिएको छ । शिखा बुक्सले यहाँ आज आयोजना गरेको कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, एनएमबि बैंकका सिइओ सुनिल केसी, समीक्षक डा मदन विष्ट, पत्रकार रोहित भण्डारी र लेखक डा मल्लले संयक्तरूपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।

नबिल बैंकका अध्यक्ष पौड्यालले पुस्तक अध्ययन गरिसकेपछि मानिसलाई जीवनमा केही सफल काम गर्नका लागि प्रेरणा जनाउने भएकाले सबैलाई अध्ययन गर्न आग्रह गर्नुभयो । एनएमबि बैंकका सिइओ केसीले भन्नुभयो, “पुस्तकले सकारात्मक ऊर्जा जगाउने काम गरेको छ ।”

पुस्तकले आफूलाई कमजोर ठान्नेहरूमा आत्मविश्वास जगाउने र आफूमा रहेका सम्भावनालाई पहिचान गर्दै गम्भीरतापूर्वक अगाडि बढ्न प्रेरणा दिएको लेखक डा मल्लले जानकारी दिनुभयो । पुस्तक जीवनमा सफलताका निचोड तथा सुझावबाट समाजमा व्याप्त नकारात्मकता हटाउन सफल हुने उहाँको विश्वास छ । समीक्षक डा विष्ट र पत्रकार तथा समीक्षक रोहित भण्डारीले पुस्तक पुस्तकमात्र नभएर आत्मविश्वास भएको टिप्पणी गर्नुभयो । पुस्तक ४१ वटा शीर्षकमा लेखिएको छ । स्राेत रासस