०२ असार, गाेरखा ।

गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा दुई वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझै सम्पन्न हुनसकेको छैन । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका चौतारा टोल, दमैगाउँ, अम्बोटे, घडेरी गाउँका स्थानीयवासीलाई खानेपानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण सुरु भएको आयोजना चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको निवर्तमान वडाध्यक्ष मदनकुमार शाक्यले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७६ असारमा दुई वर्षभित्र आयोजना निर्माणको काम सम्पन्न गर्ने गरी कङ्काई गोरखा एप्रोपिरेट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । तर आयोजना अहिलेसम्म पनि सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । “पछिल्लो समय झन्डै एक वर्ष आयोजना निर्माणको काम नै भएन”, श्रेष्ठले भन्नुभयो, “फेरि गएको जेठको अन्तिम सातादेखि भने ठेकेदारले काम थालेको छ ।”

आयोजनाको अहिलेसम्म ७५ प्रतिशतमात्र भौतिक प्रगति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । “भौतिक प्रगतिको अवस्था हेर्दा ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “आयोजनाअन्तर्गत अहिलेसम्म तीनवटा पानीट्याङ्की, प्रशोधन प्रणाली संरचना निर्माण तथा पाइप खरिदको काम सम्पन्न भइसकेको छ ।”

उहाँले आयोजना निर्माणको ढिलाइ हुनुमा ठेकेदारको ढिलासुस्तीसँगै बजेटको अभाव पनि मुख्य रहेको दाबीसमेत गर्नुभयो । “आयोजना सुरु भएको पहिलो र दोस्रो वर्षमा पर्याप्त बजेट भएन”, प्रमुख पौडेलले भन्नुभयो, “त्यसबाहेक ठेकेदारको ढिलासुस्ती पनि निर्माण ढिलाइको अर्को कारण हो ।” ठेकेदार कम्पनीले काम नगर्दा २०७८ मा आयोजनाको रु ३५ लाख बजेट फ्रिज भएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सम्झौताअनुसार ठेकेदारले २०७८ वैशाखभित्रै आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गरिसकेको प्रमुख पौडेलले बताउनुभयो । “दोस्रोपटक थप गरिएको म्यादअनुसार २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ”, उहाँले भन्नुभयो, “तीव्रताका साथ काम गरे थपिएको समयमा काम सम्पन्न गर्नसक्ने अवस्था छ ।”

आयोजना निर्माणको काममा ढिलाइ भए पनि कार्यालयले ठेकेदार कम्पनीलाई मूल्य समायोजन रकम उपलब्ध गराउन नपर्ने भएकाले ठेकेदारले सम्झौता गरिएको रकममा नै आयोजना निर्माणको काम सम्पन्न गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । कार्यालयले ठेकेदार कम्पनीलाई पेश्की रु १० लाखसहित अहिलेसम्म रु तीन करोड ८५ लाख भुक्तानी गरिसकेको छ ।

पानी ट्याङकीबाट घर–घरमा पानी पुर्याउन पाइलाइन खन्नेलगायतका काम जनसहभागिताबाट गर्नुपर्ने भएकाले आवश्यक पहल भइरहेको प्रमुख पौडेलले बताउनुभयो । प्रदेश सरकारको क्रमागतअन्तर्गतको विशेष अनुदान कार्यक्रमबाट आयोजना निर्माणको सुरु भएको थियो ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भए पनि भुक्तानी रकम सबै दिन आगामी आर्थिक वर्षको बजेट पर्खनुपर्ने बाध्यता कार्यालयलाई रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । खानेपानी आयोजना निर्माणको काम सम्पन्न नहुँदा त्यहाँका स्थानीयवासी आधा घण्टा लगाएर डोकोमा पानी बोकेर खान बाध्य छन् । स्राेत रासस