पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उहाँले व्यायाम र मनोरञ्जनमात्र नभई खेलकुदले देशको प्रतिष्ठा बढाउने र खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो लगानी गर्ने उल्लेख गर्नुभयो ।

प्रदेश खेलकुद परिषद्को आयोजना र कास्कीस्थित जिल्ला भारत्तोलन सङ्घको व्यवस्थापनमा आयोजित प्रतियोगितामा कर्णालीबाहेक छ प्रदेशका ५७ खेलाडी सहभागी छन् । “स्थानीयस्तरमा रहेका खेलाडीको प्रोत्साहनका लागि यो प्रतियोगिता राखिएको हो, यसमा विभागीय टिमका खेलाडी सहभागी छैनन्”, सङ्घका अध्यक्ष राजन बडगामीले भन्नुभयो ।

प्रतियोगितामा महिलातर्फ ४९, ५९, ७१, ८१ किलो तौल समूह तथा पुरुषतर्फ ६१, ७३, ८९ र एक सय दुई किलो तौल समूहका खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा विजेता खेलाडीलाई पदक र प्रमाणपत्रले सम्मान गरिने परिषद्का सूचना अधिकारी तोपलाल भुसालले जानकारी दिनुभयो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।रासस