दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई सय ९८ रहेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा महिलाको सङ्ख्या ८८ हजार छ सय ६१ र पुरुषको सङ्ख्या ८६ हजार छ सय ३७ देखाएको छ । विसं २०६८ मा ४२ हजार छ सय ४७ घरपरिवार थियो भने दश वर्ष पछि गरिएको जनगणनामा घरपरिवार सङ्ख्या ४१ हजार सात सय ५० रहेको पाइएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर घटेको छ । तथ्याङ्क कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना विसं २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा जिल्लाका दशवटै स्थानीय तहको जनसङ्ख्या घटेको जानकारी दिइएको हो ।

नागरिकलाई गाउँमै रोजगार दिएर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावका कारण हरेक स्थानीय तहको जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसङ्ख्या घटेको छ ।

राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५ दशमलव शून्य चार प्रतिशतले जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २२ हजार चार सय ७४ रहेकामा विसं २०७८ मा १६ हजार आठ सय ४६ मा झरेको छ ।

यस्तै १० वर्षको अन्तरालमा जन्तेढुङ्गा गाउँपालिकाको जनसङ्ख्या २२ दशमलव २० प्रतिशतले घटेको छ । विसं २०६८ मा १५ हजार चार सय ४४ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १२ हजार १६ जनसङ्ख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा विसं २०६८ मा १४ हजार तीन सय ४९ जनसङ्ख्या रहेकामा उक्त सङ्ख्या २० प्रतिशतले घटेर ११ हजार तीन सय ९७ देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार एक सय ७५ रहेकामा उक्त सङ्ख्या १९ दशमलव १८ प्रतिशतले घटेर १६ हजार तीन सय पाँचमा झरेको छ

ऐसेलुखर्क गाउँपालिकामा १७ दशमलव ८९ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा १६ हजार ९७ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय १७ कायम भएको छ । साकेला गाउँपालिकाको जनसङ्ख्या १७ प्रतिशतले घटेको छ । विसं २०६८ मा ११ हजार पाँच सय ९४ थियो भने विसं २०७८ मा नौ हजार छ सय २३ गणना भएको तथ्याङ्क अधिकृत महतोले जानकारी दिनुभयो ।

त्यस्तै रावाबेँसी गाउँपालिकामा १६ दशमलगव २३ प्रतिशतले जनसङ्ख्या घटेर ११ हजार एक सय ९९ भएको छ । यहाँको जनसङ्ख्या विसं २०६८ मा १३ हजार तीन सय ६९ थियो । केपिलासगढी गाउँपालिकामा १३ दशमलव ४५ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ सालमा १५ हजार दुई सय ८८ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय ३१ मा झरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको जनसङ्ख्या आठ दशमलव ३१ प्रतिशतले घटेर २७ हजार ७८ जनसङ्ख्या गणना गरिएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २९ हजार पाँच सय ३२ थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ दशमलव ३० प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा ४६ हजार नौ सय तीन रहेकामा दश वर्ष पछि गरिएको जनगणनामा यहाँको जनसङ्ख्या ४३ हजार आठ जना देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

स्थानीय तहहरूले बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुँदा बसाइँसराइ हुने गरेको उहाँको भनाइ थियो ।

रासस