चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो ।

महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख बराबर छ । जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५ दशमलव ५६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो ।

जेठ मसान्तसम्मको चालुगततर्फको खर्च सुरुआती विनियोजनको ७४ दशमलव १५ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर बजेट विनियोजन भएकामा हालसम्म रु आठ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ४० दशमलव २४ प्रतिशत अर्थात् रु एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट विनियोजन भएकामा जेठ मसान्तसम्ममा सुरुआती विनियोजनको ६३ दशमलव २४ प्रतिशत अर्थात् रु एक खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख बराबर खर्च भएको छ ।रासस