कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै रू २० मा वीरेन्द्रनगर घुम्न सकिने भएको हो ।

आज वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्नुहुदै नरपालिकाका प्रमुख मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा आरम्भ भएसँगै नगरवासीलाई सहज हुने बताउनुभयो । नागरिकको आवश्यकतानुसार नगर माइक्रो बस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो ।

व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रो सेवाले राहत दिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नगर माइक्रो बस सेवा संयुक्त काउन्टरबाट सञ्चालन हुनेछ ।

वीरेन्द्रनगरमा एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर रू २० कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताउनुभयो । बस मङ्गलगढी–काँक्रेविहार, मङ्गलगढी–एयरपोट चोक–बामेखोला, मङ्गलगढी–गणेशचोक–आँखा अस्पताल चोक हुँदै कालिञ्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाङ्गेसिमल रुट जोडिने र गणेश चोक–कारागार–टेलिकम हुँदै कपासे रुटसमेत थप गरिने उहाँले जानकारी दिनुभयो ।

यात्रुलाई सहज सेवा दिनका लागि सहुलियत भाडादर कायम गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मङ्गलगढी–यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी माइक्रो बस सेवा सञ्चालन गरिएको छ । दश माइक्रो बस १०–१० मिनेटको फरकमा छुट्याइने छ ।

सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर रू ५० देखि रू एक सय ५० सम्म भाडा लिने गरेकामा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।रासस