तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् ।
गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ ।
स्थानीय तहको निर्वाचनका बेला जनतामाझ जाँदा स्वास्थ्य क्षेत्रमा केही काम गर्छौँ भनेर प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता पूरा गर्न स्वास्थ्य सेवा विस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । स्वास्थ्य क्षेत्रलाई विस्तार गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन काम गर्छौँ भनेर लागिपरेका छौँ ।”
अध्यक्ष चुमानका अनुसार गाउँपालिकासँगै रहेको स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा विस्तार गरी सञ्चालन गरिएको छ । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान भइरहेको छ । उहाँले भन्नुभयो, “एक/डेढ वर्ष पहिला भिडियो एक्सरे गर्नु परे चितवन जानुपर्ने अवस्था थियो । निर्वाचनका बेला स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेका थियाँै । एक वर्षमा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा स्तरोन्नति गरी सेवा दिइरहेका छौँ ।”
अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले आफ्नै स्रोतमा एमडिजिपी चिकित्सक(विषयगत विधाका विशेषज्ञ चिकित्सक) नियुक्त गरेको छ । “एमजिडिपी डाक्टर गाउँपालिकाले राख्न सक्छ भनेर खिस्सीटिउरी गर्थे । अहिले पालिकाको पहलमा अस्पतालले विशेषज्ञसहितको सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो । यहाँ सञ्चालित अस्पतालबाट बिरामी बाहिर लैजानपरे गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो । रासस