नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ ।
माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको उक्त मेला सञ्चालनको उपयुक्त समय अहिले नभएको भन्दै कामपाले उक्त स्थानमा राखिएको प्रदर्शन कक्षहरू हटाएको हो । कामपाको शिक्षा विभागका अधिकारी र नगर प्रहरीको संयुक्त प्रयासमा त्यहाँ रहेका कक्षहरू हटाइएको हो ।
कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो ।
परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला हटाउनुपरेको प्रमुख कोइरालाको भनाइ छ ।
एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राखिएको मेला उपयुक्त समयमा सञ्चालन नभएको कामपाले बताएको छ ।
मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका थिए । मेला आगामी असार ३ गतेसम्म सञ्चालन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो । कामपाले यसअघि नै यी र यस्ता गतिविधि सञ्चालन नगर्नका लागि सम्बद्ध निकायलाई आग्रह गर्दै आएको थियो । त्यसैगरी शिक्षासँग सम्बन्धित विभिन्न जानकारी दिने उद्देश्यसहित बाँड्ने पर्चाको पनि कामपाले नियन्त्रण गर्दै आएको छ । रासस