सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराउनुभयो ।
सांसद शिशिर खनालले नेपालमा सडकमा हुने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताउनुभयो । “पछिल्लो एक दशकमा १९ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जुन १० वर्षीय सशस्त्रद्वन्द्वमा मारिनेकोभन्दा बढी सङ्ख्या हो”, उहाँले भन्नुभयो, “गत वर्ष भएका २४ हजारभन्दा बढी सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।” उहाँले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सिता मिजारले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै यसको न्यूनीकरणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद सुशीला श्रेष्ठले भुस्याहा कुकुरका कारण सवारी दुर्घटना बढेको बताउनुभयो । उहाँले पैदल यात्रीलाई कुकुरको आक्रमणले असुरक्षित बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद स्वर्णीम वाग्लेले सवारी दुर्घटनामा तत्काल उद्धारका लागि सरकारको तयारीमा थप सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक संस्थाको क्षयीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति र संस्थाको सम्पत्ति जर्गेना गर्नका लागि उहाँले जोड दिनुभयो ।
सांसद सन्तोष परियारले विश्वविद्यालयका शिक्षकमाथि हुने भौतिक आक्रमण र हमलाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हरि ढकालले रामपुर कृषि विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग गर्नुभयो । रासस