वर्षौंदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो ।
सडकमा तल्लो प्याकेजको सबैभन्दा समस्या रहेका खण्डमा काम सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । मुख्य सडकमा कालोपत्रसँगै छेउमा आवश्यक संरचनाको काम सकिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । पाइप व्यवस्थापनको काम पनि भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अप्ठ्यारो खालको काम सकिएको छ, अब एक–दुई ठाउँमा थोरै मात्रै गर्नुपर्ने छ ।”
सबै पक्षको ध्यान तानेको र आयोजनालाई पनि विभिन्न अवरोधले गर्दा सरासर काम गर्न नसकेका खण्डमा नख्खु–भैँसेपाटीको आवास गेटसम्मको खण्ड रहेको थियो । अहिले सो खण्डको सडक कालोपत्र भएपछि नागरिकलाई सडकमा आवतजावत गर्न सजिलो भएको उहाँले बताउनुभयो । सोह्रखुट्टेमा थोरै काम बाँकी रहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । अहिले पर्खाल हाल्ने काम भइरहेको र त्यो सकिएपछि कालोपत्र हुने उहाँले जानकारी दिनुभयो ।
नख्खु उकालोमा कालोपत्र सकिएपछि नख्खु–बुङ्मति सडकमा मुख्य काम सकिएर ससाना काम मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । कुनैकुनै खण्डमा ‘ओभर ले’ गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सोह्रखुट्टेमा छेउमा पर्खाल लगाएर कालोपत्र गर्न लागिएको छ । उहाँले भन्नुभयो, “यी थोरै काम सकिएपछि ठेक्का सम्पन्न हुनेछ ।रासस