रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।

खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मी सँगसँगै पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याडसमेत राख्न पाएका छैनन् भने धेरैले जेनतेन गरी राखेको ब्याड पनि सुक्न थालेको छ । बढ्दो गर्मीले मानिसमात्र नभई पशुपक्षीसमेत पानी र शीतलता खोज्न थालेका छन् । रूपन्देही र कपिलवस्तुलगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको सरोकारवालाको भनाइ छ ।

“वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ”, सम्मरीमाइ स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीले भन्नुभयो, “अत्यधिक गर्मीले बजार, शैक्षिक संस्थाका साथै सरकारी कामकाजसमेत प्रभावित छ ।” यही जेठ ३१ गते बुधबार पश्चिमी मधेसअन्तर्गत रुपन्देहीको भैरहवा क्षेत्रमा अधिकतम ४३ र न्यूनतम २८ दशमलव आठ डिग्री सेल्सियस (देशभरिकै उच्च) तापमान मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

“यस क्षेत्रमा बढ्दो गर्मीका कारण बिरामीको चाप पनि बढ्दै गएको छ”, भैरहवा भीम अस्पतालका सूचना अधिकारी डा आरिफ अन्सारीले भन्नुभयो, “सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने भीम अस्पतालमा अहिले दैनिक तीन सय ५० बढी आउने गरेका छन् । रासस