सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३.२१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

बङ्गलादेश बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको आयात भुक्तानी १४.४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५.०६ प्रतिशतले वृद्धि भई ४३.०५ अर्ब डलर पुगेको छ ।

गत आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ ।

केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट््यान्सले बङ्गलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो १० महिनामा बङ्गलादेशले १७ अर्ब ७२ करोड डलर विप्रेषण भित्राएको थियो । मे महिनामा ३० अर्ब डलरभन्दा तल झरेको देशको घट्दो विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन बैंकले हालैका महिनाहरूमा आयातलाई निरुत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ ।

निर्यातलाई बढावा दिनको लागि बैंकले गत वर्ष सेप्टेम्बरमा देशका वाणिज्य बैंकहरूलाई चिनियाँ मुद्रा युआनमा खाताहरू खोल्न मार्ग प्रशस्त गरेको थियो । यसको अर्थ चिनियाँ मुद्रामा आधारित सीमापार व्यापारलाई सुविधा जनक बनाउनु रहेको बताइएको छ । रासस