बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहर सङ्कलन गर्न थालेको छ । नगरमा सङ्कलन भएको फोहरबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन् । कुहिने र नकुहिने फोहर सङ्कलनका लागि नगरपालिकाले सबै वडामा छुट्टाछुट्टै गाडी पठाउने गरेको उहाँले जानकारी दिनुभयो । “कुहिने फोहर सङ्कलन गरेर दुई वटा गाडीमार्फत कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहारमैला व्यवस्थापन कम्पनीमा लैजाने कार्य सुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको साझेदारीमा स्थापना भएको उक्त कम्पनीले नगरबाट आउने कुहिने फोहरलाई जैविक ऊर्जामा परिणत गर्ने परियोजना सञ्चालन गरिरहेको छ । “वर्गीकरण नगरिएको फोहर परियोजनाले लिदैन । हरेक टोल विकास संस्थामा जनचेतनामूलक कार्यक्रम गरेर घरबाट निस्कने फोहरमैलालाई कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरिदिनु अनुरोध गरेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “विज्ञहरुको सुझाव अनुसार नै फोहर वर्गिकरण गरेर सङ्कलन गर्नुका साथै जागरण अभियान पनि सँगसँगै चलाइरहेका छौँ ।”

वर्गीकरण नगरिएको फोहर नबुझ्ने जानकारी गराइसकेको हुँदा नगरवासी आफैले कुहिने र नकुहिने फोहरलाई अलग–अलग भाँडोमा राखेर बुझाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कनकाई नगरपालिका–२ को जामुनखाडीमा बायोग्यासको उत्पादन गृह छ । रासस