कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ ।

रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउनुहुन्छ । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उहाँलाई रिक्सा चलाउन कठिन भएको छ । “गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भन्नुभयो, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।”

अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउनुहुन्छ । “यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन”, उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ त मुटु पनि दुख्छ । हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन ।” विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउनुहुन्छ । ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ । “गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि लचाए पो कमाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ । महिलालाई त कठिन मात्र ।

राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ । “बाटा राम्रो छैनन् । धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ”, उहाँ भन्नुहुन्छ, “गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन् ।” गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ । दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सक्नुभएको छैन । “घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु । साथीहरुले अस्पताल लगेर उपचार गरेर बचाए”, राधेश्यामले भन्नुभयो, “त्यसपछि काममा गएको छैन । पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु ।”

राधाश्यामजस्तै अन्य कामदारसमेत गर्मीले नियमित काममा जान सकेका छैनन् । गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन् । तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता समस्या देखा पर्छन् । गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ ।रासस