लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् ।

मकै, तरकारी, फलफूल खेती सिँचाइ अभावले सुक्न थालेका छन् । मकै खेतीले हराभरा हुने खेतबारी यतिबेला सुक्खा बनेका छन् । विगतका वर्षमा यस समय खेतमा लगाइएको मकै स्याहार्ने चटारो हुने गरेकोमा यस पटक खेतमै घुँघा नलाग्दै सुकेर नष्ट भएको पाल्पाको रामपुरकी कृषक राधिका भण्डारीले बताउनुभयो ।

“अघिल्ला वर्षमा खेतमा लगाइएको मकै पाकेर स्याहार्ने चटारो हुन्थ्यो, खडेरीले अहिले त एउटा घोँगा पनि मकै स्याहार्न पाइएन, किसानलाई खेती गरेर खान पनि समस्या छ”, उहाँले गुनासो पोख्नुभयो । खेतमा लगाइएको मकैले वर्ष दिनसम्म भैसीलाई आहार व्यवस्थापनका लागि सजिलो हुने गरेकोमा यस पटक उत्पादन स्याहार्न नपाउँदा बजारबाट खरिद गरेर पशुपालन गर्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ । जेठको अन्तिम सातादेखि यस क्षेत्रमा खेतमा पाकेका मकै स्याहार्ने कामले किसान व्यस्त रहन्थे । हिजोआज किसानको दिन फुर्सदिलो बनेको छ ।

सिँचाइ सुविधा भएका खेतबारीमा पनि आकाशे पानीको अभावले राम्रोसँग मकै सप्रन सकेको छैन । पानीका मूल खडेरीले सुक्दै जान थालेपछि सिँचाइ सुविधा पुगेका जमिन सुक्खा बनेका छन् । लामो समय खडेरीले खोला, नदीनालाका मूल, कुवाका पानी सुक्न थालेपछि कुलो तथा नहरबाट सिँचाइका लगिएका पानी खेतको मुहानमा पुग्नै समस्या रहेको बताउनुहुन्छ, अगुवा कृषक घनश्याम देवकोटा ।
रासस