कर्णाली प्रदेशका पत्रकारलाई ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ (प्रतिजैविक प्रतिरोध)विरुद्ध सचेतना प्रशिक्षण दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा अमेरिकी सहयोग नियोग, युएसएआईडीको सहयोगमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यशाला गोष्ठीमा यहाँका पत्रकार तथा सञ्चारकर्मीलाई सचेतना प्रशिक्षण दिइएको हो ।

युएसएआईडीका मेडिसिन टेक्नोलोजिज एण्ड फार्मसेउटिकल सर्भिस कार्यक्रमका वरिष्ठ प्राविधिक सल्लाहकार डा सन्तोष दुलालले एन्टिमाइक्रोबियल र यसको प्रतिरोधको पृष्ठभूमि, विश्वव्यापी फैलावट, राष्ट्रियस्तरमा देखापरेका चुनौती र भोग्नु परेका असरबारे प्रस्तुति राख्नुभयो ।

“एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्वमा मौन महाव्यायधिका रुपमा देखापरेको छ,” उहाँले भन्नुभयो, “विश्वमा ५० प्रतिशत एन्टिबायोटिकमा अनावश्यक प्रयोग हुँदा त्यसले मानव जीवन, कृषि, प्राणी र वातावरणमा ठूलो असर परेको छ ।” यसबाट नेपाल जस्ता विकासोन्मुख देशले समस्या भोग्दै आएको बताउँदै डा दुलालले यसको चुनौती र असरको सामनाका लागि विश्वव्यापीरुपमा रणनीति बनिसकेको र नेपालले पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँग जुँध्न राष्ट्रिय कार्ययोजना निर्माण गरेको जनाउनुभयो ।

त्यस्तै, युएसए आइडीका डा विवेका श्रेष्ठले एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँगको लैङ्गिक असर र एक स्वास्थ्य नीतिको अवधारणाबारे आफ्नो प्रस्तुति राख्नुभयो । संस्थाका अर्जुन अधिकारीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पारेको प्रभावका विषयमा खोज पत्रकारितासम्बन्धीका विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । रासस