उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको सो भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको र अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिनुभयो ।

उहाँले राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसका लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापारघाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलियाजस्तो देशबाट साथ–समन्वयको अपेक्षा गरेको बताउनुभयो । ऊर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उहाँको भनाइ थियो ।

भेटमा राजदूत भोल्कले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग साझेदारी बढाउनेतर्फ छलफल भइरहेको बताउनुभयो । उहाँले व्यापारमा समेत साझेदारी गर्न अष्ट्रेलिया इच्छुक रहेको र दुई देशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भइरहेको जानकारी दिनुभयो ।

राजदूत भोल्कले दिवङ्गत पर्वतारोहीको शव फिर्ता र मृत्युको प्रमाणपत्र उपलब्ध गराउने विषयमा नेपाली कानुन र निर्देशिकासँग नबाझिने गरी सहयोगको अपेक्षा गरेको बताउनुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस