केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् ।

तीन पटक(लट)सम्मको फल कुहिन थालेपछि व्यावसायिक ड्रायगन किसान मार्कामा परेका छन् । चर्को घाम, पानी र हावाहुन्डरीबाट जोगाउनुपर्ने खेती भएकाले जेठ १५ देखि बढ्दै गएको तापक्रमका कारण व्यावसायिक किसान निराश बनेका हुन् ।

यस वर्षको चर्को घाम र हुन्डरीले पथरी शनिश्चरे–६ का पुर्व वडाध्यक्ष जयबहादुर तामाङले सञ्चालन गरेको पुर्वाञ्चल मल्टिपल एग्रिकल्चरमा करिव पाँच देखि सात लाखसम्मको ड्रायगन क्षति गरेको छ । “पहिलो पटक सुरु गरेको खेतिमा हावाहुन्डरी र तापक्रमले समस्या देखियो”, तामाङले भन्नुभयो । ड्रायगनको बोट पहेँलिनु, फल कुहिँनुले पहिलो पटक मै नराम्रो झट्का लागेको उहाँले बताउनुभयो । “अब उत्पादन लिन तीन हप्ता कुर्नुपर्ने हुन्छ । पहिलो, दोस्रो र तेस्रो पटक फलबाट आम्दानी लिन नपाए पनि मौसमले साथ दिए तीन हप्तापछि उत्पादन हुन्छ”, पूर्व वडाध्यक्ष तामाङले भन्नुभयो ।

पथरी शनिश्चरे–८ का खगेन्द्रप्रसाद लिम्बूको मेद्यावी कृषि फर्ममा पनि ड्रायगनका बोटमा क्षति भएको छ । अढाइ बिघामा लगाएको फर्ममा भूई भरि कोपिला र दाना कुहिएर झरेका छन् । लिम्बूले यस पटकको घाम र हावाले रू १५ लाख बराबरको ड्रायगन कुहिएको जानकारी दिनुभयो । फर्ममा टिप्न तयार भएका फलसमेत चर्को मैसमका कारण चाउरिएर साना दाना लागेका उहाँले बताउनुभयो । रासस