कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्नुहुन्छ । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिनुहुन्छ, उहाँ । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताउनुभयो ।
“परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने काम गर्छु”, उहाँले भन्नुभयो, “विद्यालयबाट फर्किएर दिउँसोदेखि बेलुकासम्म बालुवा छान्छु ।” रेश्माका अनुसार बुबा कामको सिलसिलामा भारतमा छन् । आमा महाकालीमै बालुवा छान्ने काम गर्नुहुन्छ । आमासँगै महाकालीमा बालुवा छानेर विद्यालयको खर्च जुटाउनुका साथै बिहान–बेलुकाको खानाको जोहो समेत गर्ने गरेको उहाँको भनाइ थियो ।
ब्रह्मदेवकै करिष्मा दमाईंले यसपटक कक्षा १० को परीक्षा दिनुभयो । उहाँ एसइई दिएर फुर्सदको समयमा बालुवा, गिट्टी छान्ने काम गर्नुहुन्छ । “उच्च शिक्षा पढ्न पैसा छैन, परीक्षा दिएपछि फुर्सदको समयमा बालुवा छान्ने गर्नु । त्यसबाट आएको पैसा बचत गरेर राख्छु”, उहाँले भन्नुभयो । बालुवा छानेर पाएको पैसाले उच्च शिक्षा पढ्ने सपना पूरा हुने र घरपरिवारलाई आर्थिक सहायता हुने करिष्माको भनाइ छ ।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा जुटेका देखिन्छन् । आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीकै बीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्दछन् ।रासस