अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ ।

शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मङ्गलबारदेखि सञ्चालित बुक बसमा पाँच विद्यालय र एक पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने जनाइएको छ । विद्यार्थीलाई शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको संयोजक सोनिया तामाङले बताउनुभयो । उहाँका अनुसार जेठ ३० देखि असार ९ गतेसम्म सञ्चालित कार्यक्रमअन्तर्गत पनौती आधारभूत विद्यालय, पुण्य हाइस्कुल, इन्द्रेश्वर मावि, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, सामुदायिक बोर्डिङ स्कुल तथा ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुनेछ ।

एउटा गाडीलाई नै बुक बस अर्थात् पुस्तकालय बनाइएको छ । झट्ट हेर्दा दमकलजस्तो तर नजिकबाट हेर्दा एकदमै नौलो सवारीसाधनजस्तो देखिने बस पुस्तकालयभित्र विभिन्न पुस्तक सजाएर राखिएका छन् । बुक–बसमा कथा, कविता तथा उपन्यासका नेपाली र अङ्ग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक राखिएको छ । बुक–बसमा किताबमात्र छैनन्, बसभित्र ठूलो एलसिडी मोनिटर पनि राखिएको छ । त्यसमा विद्यार्थीलाई अडियो, भिडियो सामग्री, डकुमेन्ट्री पनि देखाउने गरिएको छ ।

विशेषगरी सामाजिक तथा धार्मिक महत्त्व बोकेको पनौतीका दुई नदी पुण्यमाता र रोशी अहिले प्रदूषित र सङ्कुचित स्थितिमा रहेकाले यी नदी र वरिपरिको वातावरणबारे विद्यार्थीमाझ ध्यानाकर्षण र रुचि बढाउन पनौतीका शैक्षिक संस्थामा कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । कार्यक्रमअन्तर्गत स्टिम कार्यशाला, पुस्तक पठन तथा कथा वाचन, प्रदर्शनीसमेत हुने जनाइएको छ । रासस