जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो ।

तटबन्धकार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिनुभयो । वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेकाले तटबन्ध निर्माणपश्चात समस्या हटेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा गण्डकी प्रदेश सरकार पूर्वमन्त्री हरिबहादुर चुमानको पहलमा बस्ती संरक्षणका लागि रु आठ लाख विनियोजन भएको हो । वडाध्यक्ष गुरुङको पहलमा मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाले एक सय २० र गण्डकी प्रदेश सरकारले ५० मिटर तटबन्ध गरेको खानीखोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णविक्रम थापाले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा करिब १५ मिटर गहिराइ र ३० मिटर उचाइको पर्खाल निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “खोलामा आउने बाढीबाट कटान रोक्न पर्खाल लगाएका र नलगाएका क्षेत्रमा ठूला–ठूला ढुङ्गा राख्ने योजना बनाएका छौँ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । उक्त क्षेत्रमा अझै संरक्षण गर्नुपर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो ।
रासस