विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गर्नुभएको छ ।

यो हालैको कूटनीतिक गतिविधिमा भएको उच्चस्तरीय वार्ता हो । विशेष गरी ताइवानलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व हुने गरेको छ । बेइजिङले आवश्यक परे ताइवानलाई बल प्रयोग गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्रीको फेब्रुवरीमा हुने भनिएको नियोजित भ्रमण अचानक रद्द भएपछि आपसी मनोमालिन्यलाई शान्त पार्ने उद्देश्यले दुई देशका शीर्ष कूटनीतिज्ञले वार्ता गरेका हुन् । आगामी आइतबार अमेरिकी विदेशमन्त्री बेइजिङ पुग्दै हुनुहुन्छ ।

यो वर्षको प्रारम्भदेखि नै चीन र अमेरिकाबीचको सम्बन्ध नयाँ कठिनाइ र चुनौतीबाट गुज्रिरहेको चिनियाँ विदेशमन्त्रीले वार्तामा बताउनुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङले अगाडि सारेको पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई मान्य हुने सहयोगको सिद्धान्त अनुसार चीन–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने चिनियाँ चाहना विदेशमन्त्रीले दोहो¥याउनुभएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले पनि विदेशमन्त्री ब्लिन्केनले विश्व मामिलाका साथै आपसी सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने, द्वन्द्वबाट बच्ने तथा चीनसँगको संवाद र सञ्चारलाई खुला राख्ने विषयमा आफ्ना चिनियाँ समकक्षीसँग विचारविमर्श गर्नुभएको बताएको छ । रासस