शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो ।

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्नसमेत सहज भएको विद्यालयका शिक्षक कविता सापकोटाले बताउनुभयो ।

विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको बताइएको छ । “शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थी आफैँले आइसिटीको प्रयोग गर्दै नयाँ–नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी देखिएको हो”, सापकोटाले भन्नुभयो ।

इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सिसी क्यामेरा, कम्प्युटर, डिभीआर, एलभीआरजस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्याएको विद्यालयका सूचना अधिकारीसमेत रहनुभएका शिक्षक डम्मरुवल्लभ ओझाले बताउनुभयो । रासस