गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ ।

चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ ।

यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ ।

यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ । यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको उहाँले बताउनुभयो ।रासस