गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय समितिका संयोजक होमसिंह बस्न्यातले जानकारी दिनुभयो ।

गोरखाको गौरवका योजनाका रूपमा बोकोर्लोक ताल निर्माणका लागि स्थानीयवासी तयार भएको उहाँले बताउनुभयो । ताल निर्माणका लागि प्रस्ताव गरिएको स्थानमा करिब दुई सय जनाभन्दा बढी घरपरिवारको जग्गा पर्ने भए पनि उनीहरू जग्गा दिन तयार रहेको संयोजक बस्न्यातले जानकारी दिनुभयो ।

“बोकोर्लोक ताल निर्माणका लागि पञ्चायतकालमा नै एकपटक डिपिआर भएको थियो तर त्यो त्यत्तिकै हरायो”, उहाँले भन्नुभयो, “निर्वाचनका बेला ताल निर्माणका लागि सबै उम्मेदवारले पहल गर्ने प्रतिबद्धता जनाउने गरे पनि जितेर गएपछि त्यसलाई भुल्ने गरेका छन् ।” संयोजक बस्न्यातले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत ताल निर्माणका लागि पहल गरिदिन आफूहरूले माग गरेको बताउनुभयो ।

“प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत बोकोर्लोक ताल निर्माणका लागि ज्ञापनपत्र बुझाइएको छ”, उहाँले भन्नुभयो, “उहाँहरूले यस विषयमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ ।” संयोजक बस्न्यातले गोरखा नगरपालिकाले बोकोर्लोक ताललाई गौरवको योजनाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले नगरप्रमुख कृष्णबहादुर रानामगर र उपप्रमुख मसलीमाया थोकरले ताल र बसपार्क निर्माण गर्न पहल गरिएको क्षेत्रको स्थलगत अवलोकन गरी निर्माणका लागि प्रक्रिया सुरु गर्न नगरपालिका तयार रहेको बताउनुभएको जानकारी दिनुभयो । बोकोर्लाेक ताल निर्माण गर्न सके पर्यटन विकासमार्फत सिङ्गो गोरखा जिल्लाले आर्थिक, सामाजिकरूपमा फाइदा लिनसक्ने उल्लेख गर्नुभयो ।

त्यस्तै ताल निर्माणका हुँदा स्थानीयस्तरमा समेत पर्याप्त रोजगारीको सम्भावनासमेत बढ्ने स्थानीयवासीको भनाइ छ । त्यस्तै प्रस्तावित ताल निर्माणस्थलसँगै करिब दुई सय रोपनी क्षेत्रफल जमिनमा गोरखा बसपार्क निर्माण गर्नसमेत स्थानीयवासीले प्रस्ताव गरेका छन् । “बसपार्कका लागि करिब ७० घरपरिवारको जग्गा पर्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “धेरैजसोको लालपुर्जासमेत सङ्कलन गरी जग्गा उपलब्ध गराउन सहमतिपत्रमा हस्ताक्षरसमेत गराइसकिएको छ ।”

गोरखा नगरपालिकाका सबै वडाको मध्यभागमा पर्ने तथा गोरखा आबुँखैरेनी सडकखण्डसँग जोडिएको क्षेत्र भएकाले उक्त क्षेत्र बसपार्कका लागि उपयुक्त हुने संयोजक बस्न्यातको भनाइ छ । बसपार्क निर्माणका लागि करिब दुई सय रोपनी जग्गा आवश्यक पर्ने अनुमान गरिएको भन्दै उहाँले त्यसमा चार सयवटा सवारीसाधन आउजाउ र पार्किङका लागि उपयुक्त हुने उहाँको भनाइ छ ।

सम्म धरातल भएका र सदरमुकामबाट जिल्लाका अन्य क्षेत्रमा सवारी छुट्नका लागि अहिले बसपार्क निर्माण गर्न प्रस्ताव गरिएको क्षेत्र उपयुक्त हुने स्थानीयवासीको भनाइ छ । “बजार नजिक प्रशस्त जग्गा अन्य ठाउँमा नरहेको र सम्म धरातल भएकाले निर्माणका कम खर्च हुने हाम्रो अनुमान छ”, संयोजक बस्न्यातले भन्नुभयो, “यो ठाउँ बसपार्क निर्माणका लागि सबैभन्दा उपयुक्त ठाउँ भएको हाम्रो ठम्याइ छ ।”

बसपार्क निर्माणका लागि जिल्ला समन्वय समिति र नगरपालिकासँग डिपिआरका लागि आफूहरूले छलफल गरिरहेको उहाँले बताउनुभयो । बसपार्क निर्माणका लागि स्थानीय समितिले गएको वैशाख ९ गते र बोकोर्लोक ताल निर्माणका लागि जेठ ६ गते जग्गाका मोहीहरूसँग छलफल गरेको थियो ।रासस