प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिनुभएको थियो ।

निरीक्षणअघि प्रधानमन्त्री दाहालले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । दाहाल, लम्साल, रूपाखेती, कुँवर र राणा वंशका कुल शिरोमणि दाशुको सालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो ।

सो क्रममा प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल बनाउन लागिपरेको बताउनुभयो । उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताउनुभयो ।रासस