तनहुँको भानु नगरपालिकाको करिब एक वडामा नै पानीको अभावमा रहेको छ । पानीको मुहान सुकेपछि यस क्षेत्रमा खानेपानीको अभाव भएको हो ।

भानु नगरपालिका–२ फुस्रेटारका तीन सय घरधुरी पानीको अभावमा रहेका छन् । पानीको मुहान पत्ता लागे पनि उपभोक्ताका लागि वितरण गर्न नसक्दा उनीहरुले पानीको अभाव भोग्नुपरेको छ । उक्त क्षेत्रमा तीन सय घरधुरीका करिब एक हजार तीन बढी व्यक्ति प्रभावित भएका छन् ।

पानीको मुहानबाट आएको पानी सञ्चितिका लागि रिजर्भ ट्याङ्की नहुँदा यहाँका उपभोक्तालाई समस्या भएको अम्बोटे कालीमाटी बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराज त्रिपाठीले जानकारी दिनुभयो । रिजर्भ ट्याङ्कीको अभावले आवश्यक पानी सङ्कलन गरी वितरण गर्न नसक्दा यहाँ पानीको हाहाकार भएको उहाँले बताउनुभयो ।

“बोरिङ गरिएको पानी फ्लो भइसकेको छ, रिजर्भ ट्याङ्की नहुँदा समस्या भएको छ, एउटा ३० लिटर खपत हुने ट्याङ्कीमा जम्मा गरिएको पानीले उपभोक्तालाई वितरण गरे पनि पुग्दैन”, उहाँले भन्नुभयो, “अहिले एक घण्टामा ३० हजार लिटर पानी सङ्कलन हुन्छ, सङ्कलन गरिने ट्याङ्की चुहिने हुँदा चुहिएर बाँकी रहेको पाँच हजार लिटर पानी उपभोक्तालाई वितरण गरिन्छ ।” उक्त बोरिङ गरिएको पानी सञ्चित गर्न नसक्दा यहाँका बासिन्दाले पानी उपभोग गर्न पाएका छैनन् । रासस