चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखिको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एवं विकासको साझेदार र असल छिमेकीका रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो । पछिल्ला दिनमा नेपाल र चीनको विधायिकी सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले चीन नेपालका पर्यटक स्रोत मुलुकमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकामा खुसी व्यक्त गर्नुभयो ।
चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त रहेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो हवाई उडान हुने विश्वास व्यक्त गर्नुभएको थियो । रासस