नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा पोखरामा आज आयोजित कार्यक्रममा दूरसञ्चार सम्बद्ध कानुनको प्रभावकारी कार्यान्वयन र सेवाको गुणस्तरीयतामा जोड दिइएको छ ।
दूरसञ्चार सेवा सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाबारे सेवा प्रदायक र सरोकारवालाबीच गरिएको छलफलमा वक्ताहरूले बनेका कानुनको प्रभावकारी कार्यान्वयन एवम् नियमनसँगै सेवा प्रदायक पनि सेवाको गुणस्तरीयता अभिवृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सूचना प्रविधिमा आएको परिवर्तनसँगै नियामक निकायको भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । सेवाको सञ्चालन एवम् नियमनका लागि बनाइएका कानुन पनि आवश्यकता अनुसार संशोधन हुँदै जानुपर्नेमा उहाँको भनाइ छ । सेवा प्रदायकबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको बताउँदै उहाँले गुणस्तरीय सेवा बढाउनेतर्फ लक्षित हुनुपर्ने बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन कानुन रहेको बताउँदै त्यसको पालना गरी सेवालाई गुणस्तरीय बनाउन सम्बद्ध सेवा प्रदायक लाग्नुपर्ने बताउनुभयो । सेवा प्रदायकहरूले स्वस्थ प्रतिस्पर्धालाई जोड दिनुपर्ने बताउँदै उहाँले भौगोलिक अवस्था जस्तो भए पनि सञ्चारको महत्व उत्तिकै बराबरी रहेको उल्लेख गर्नुभयो ।
नेपाल टेलिकम गण्डकी प्रदेशका उपनिर्देशक प्रक्षित थापाले भौगोलिक विकटताले कतिपय स्थानमा सेवा प्रवाहमा समस्या आएको बताउँनुभयो । कतिपय स्थानमा विजुली बत्ती उपलब्ध नहुँदा सोलारका माध्यमबाट मात्रै सेवा प्रभावकारी रुपमा दिन नसकिएको उहाँले बताउनुभयो ।
पोखरा उच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष गिरधारी सुवेदीले दूरसञ्चार सेवालाई प्रभावकारी बनाउनका लागि एकीकृत कानुनको खाँचो औंल्याउनुभयो । उपभोक्ता मञ्च गण्डकी प्रदेशका कोषाध्यक्ष मीना रानाभाटले सेवाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै अव्यवस्थित रुपमा राखिएका तारलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा पोखरा इन्टरनेटका विजेश पालिखे, प्रशंसा अर्याल लगायतले बोल्नुभएको थियो भने सहभागीका तर्फबाट सेवा प्रवाह, कानुनी व्यवस्था लगायतमा जिज्ञाशा व्यक्त गरिएको थियो । रासस