सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्नुहुँदा बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जालाई प्राथमिकतामा राखेर सोही बमोजिमको वार्षिक बजेट तुर्जमा भइरहेको जानकारी दिनुभयो । उहाँले विगतको सरकारले ल्याएका कतिपय असल अभ्यास एवं कार्यक्रमलाई सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरेको बताउनुभयो ।

बैठकको प्रारम्भमा नीति कार्यक्रममाथि भएको छलफलमा प्रदेशसभा सदस्य जानकीदेवी कुँवर, जानकीदेवी ऐर बम, टीका थापा, देवानसिंह विष्ट, हिरा सार्की, बेलबहादुर रानामगर, गीताकुमारी चौधरीले भाग लिनुभएको थियो ।रासस