सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुप¥यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्युभयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भयो ।

नेपाल, भारत, चीन, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र हङ्गेरी गरी नौ देशका नागरिकको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो ।

यस वर्षको सगरमाथा आरोहणमा प्रतिकूल मौसम अर्थात् बढी चिसो भएकाले पनि धेरै सङ्ख्यामा आरोहीको मृत्यु भएको २८ पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गर्नुभएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले बताउनुभयो । “यसपाली चिसो बढी थियो, मौसमले पनि साथ दिएन, कतिपय दक्ष र अनुभवी गाइड पर्याप्त नभएकाले पनि मृत्यु बढेको हुनसक्छ”, उहाँले भन्नुभयो ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार प्रतिकूल मौसमका कारण यो वर्ष धेरै सङ्ख्यामा आरोहीको दुःखद् मृत्यु भएको छ । “यो पटक मौसमकै कारण धेरै आरोहीको मृत्यु भएको हो, मौसम सफा भयो भनेर आरोही अघि बढे बिचमा मौसम छिटोछिटो परिवर्तन भयो । यसपटक मौसम प्रतिकूलताका कारण नै धेरैको मृत्यु भएको छ”, उहाँले भन्नुभयो ।
यस याममा आरोहीको सङ्ख्या बढी भएको भनी प्रचारमा आएको विषय सत्य नरहेको भन्दै निर्देशक खतिवडाले मौसमले साथ नदिएकाले आरोहीको भिड बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“विदेशी सञ्चार माध्यमले आलोचना गरिरहेका छन् धेरै आरोहीलाई अनुमति दिइयो भनेर तर हामी (पर्यटन विभाग) त्यसलाई स्वीकार गर्दैनौँ ।

निर्देशक खतिवडाले ३० दिनका लागि कूल चार सय ७८ आरोहीलाई आरोहण अनुमति दिइएको र औसतमा दैनिक १६ जनाको आरोहण हुने अनुमानसहित आरोहण अनुमति दिइएकाले आरोहीको सङ्ख्या बढी भनेर आलोचना गर्नुको तुक नरहेको बताउनुभयो । चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरुले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो ।

धेरै सङ्ख्यामा आरोहीलाई अनुमति दिइएकाले सगरमाथामा मृत्यु पनि बढेको र आरोहीको जाम लागेको भन्ने विदेशी सञ्चारमाध्यमका कुरा सत्य नभएको बरु प्रतिकुल मौमसका कारण केही दिन आरोहीहरुले एकै समयमा बढी भिडभाड गरेकाले धेरै सङ्ख्यामा मानवीय क्षति भएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको भनाइ थियो ।

“यस यामको सगरमाथा आरोहणमा मौसमका कारणले धेरै मृत्युदर बढेको देखिन्छ । कुनै आकस्मिक र ठूलो विपद् त हैन मौसमकै कारणले धेरै मानवीय क्षति भयो ।” विभागका अनुसार सामान्यतयः अप्रिल अन्तिमसम्म ‘रोप फिक्सिङ’को काम सकिन्छ । मे महिनाभरी आरोहण चल्छ । यो सङ्ख्या सगरमाथामा भएका ठूला विपद्पछिको सबैभन्दा धेरै हो । यसअघि सन् २०१५ (विस २०७२ वैशाख १२ गते) आएको गोरखा महाभूकम्पका कारण १९ जनाको मृत्यु भएको थियो ।

त्यसअघि सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा परी १६ जनाको मृत्यु भएको थियो । मौसम प्रतिकूलताका साथै हाईअल्टिच्यूटका कारण पनि यो वर्ष धेरै आरोहीको मृत्यु भएको इमाजिन नेपालका कार्यकारी निर्देशक दाबा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

कुन मितिमा कुन–कुन देशका आरोहीको मृत्यु

सगरमाथा आरोहणको बाटो खुलाउने क्रममा ः अप्रिल १२ तारिखका दिन खुम्बु क्षेत्रमा तीन शेर्पा बेपत्ता भएका थिए । पर्यटन विभागका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ निवासी दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा हिउँको ढिस्कोले पुरिएर बेपत्ता भएका हुन् । उनीहरु इमाजिन नेपाल ट्रेक्सबाट खटिएका थिए । सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) को सामान लैजानेक्रममा उनीहरु हिउँको ढिस्कोमा बेपत्ता भएका थिए ।
सन् २०२३ को वसन्त ऋतुमा सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म ‘रोप फिक्सिङ’ गर्न पर्यटन विभागबाट पर्वतारोहण सञ्चालक सङ्घलाई जिम्मेवारी दिइएको थियो । सो कामको जिम्मा पाएको इमाजिन नेपाल ट्रेक प्रालिका तर्फबाट दावा ग्याल्जे शेर्पाको नेतृत्वमा एक फोटोग्राफरसहित नौ शेर्पाले ‘रोप फिक्सिङ’ गरेका थिए ।
मृतकमध्ये तीन नेपाली र तीन विदेशीसहित छ जनाको सगरमाथा आरोहपछि मृत्यु भएको थियो भने बाँकी ११ जनाको आरोहणका क्रममा मृत्यु भएको थियो । ह्याप्पी फिट कम्पनीबाट आरोहणमा जानुभएका नेपाली आरोही रञ्जित कुमार झाको २५ तारिखका दिन मृत्यु भएको थियो । एक्सिपीडिसन हिमालयबाट जानुभएका लाक्पा नोर्बु शेर्पाको पनि सोही दिन मृत्यु भएको थियो ।

त्यस्तै पिक प्रमोसन कम्पनीबाट आरोहणमा जानुभएका फुर्बा शेर्पाको मे १६ तारिखका दिन मृत्यु भएको थियो । त्यसैगरी विदेशी नागरिक क्रमशः मलेसियाका एज आकासान्दर विन अम्पुअन याक्कुवको मे १९ मा, सोही दिन सिङ्गापुरका श्रीनिवास सान्स दत्त र अष्ट्रेलियाका जासोन्ब बर्नाड लेलिन्सोनको मे १९मा मृत्यु भएको थियो । उहाँहरु क्रमशः पायोनियर एक्सिपीडिसन सेभेन समिट ट्रेक्स र एसियन ट्रेकबाट आरोहणमा जानुभएको थियो ।

त्यस्तै भारतका सुबान्ने लियोपोल्डिएनको मे १८मा लुक्लामा मृत्यु भएको थियो । उहाँ ग्लेसियर ट्रेकिङ कम्पनीबाट आरोहणमा जानुभएको थियो । त्यस्तै एटके एक्सिपीडिसनबाट आरोहाणमा जानुभएका चिनियाँ नागरिक जुएविन चेनको मे १८ मा सगरमाथाको साउथ समिटमा मृत्यु भएको थियो । त्यसैगरी मे १मा सगरमाथाको दोस्रो शिविरमा अमेरिकी नागरिक जोन थान सुगरम्यानकोे मृत्यु भएको थियो । उहाँ इमेज कम्पनीबाट आरोहणमा जानुभएको थियो ।

अप्रिल १२ का दिन इमाजिन नेपालबाट जानुभएका लाक्पा रीता शेर्पाको खुम्बु आइसफलमा मृत्यु भएको थियो । मे २१ तारिखमा पिक प्रमोसन कम्पनीबाट आरोहणमा जानुभएका आङकामी शेपाको सगरमाथाको दोस्रो शिविरमा मृत्यु भएको थियो । क्यानेडियन नागरिक एस पेटरुस अल्वर्टयनकोे मे २५मा सगरमाथाको तेस्रो शिविरमाथि मृत्यु भएको थियो । उहाँ हिमालयन गाईड कम्पनीबाट आरोहणमा जानुभएको थियो । सेभेन समिट ट्रेक्सबाट जानुभएका हङ्गेरीका स्जीलार्ड सुहाजडाको हिलारी स्टेपमा मे २४मा मृत्यु भएको थियो ।

यस यामको सगरमाथा आरोहण गत वैशाख ३० गते देखि सुरु भएको थियो । झण्डै जेठको तेस्रो सातासम्म आरोहण भएको थियो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो । सङ्घका पूर्वअध्यक्ष शेर्पाका अनुसार सन् २०१४ को हिमपहिरो र सन् २०१५ को महाभूकम्पछि यसवर्ष सबैभन्दा धेरै आरोहीको मृत्यु भएको हो ।

एकिन तथ्याङ्क नभए पनि सन् १९५३ देखि हालसम्म तीन सय २८ जनाको मृत्यु भएको बताइन्छ । हालसम्म झण्डै आठ हजारले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै एघार हजार हाराहारी आरोहीले सगरमाथा चढेको उहाँले जानकारी दिनुभयो ।

यो याममा सगरमाथाको चाँैथो शिवविरसम्म बाटो खोलिसकेपछि उच्च हिमाली क्षेत्रमा लामो समयसम्म चलेको चर्को हावा र खराब मौसमका कारण सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ गरी बाटो खोल्ने काममा केही ढिला भएको विभागले जनाएको छ । मौसम बिग्रिएकाले झण्डै दुईसाता ढिलोगरी आरोहण सुरु भएको थियो । सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको बेग चलेकाले आरोहणमा कठिनाइ भएको थियो ।

सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा यस वर्ष हालसम्मकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार यस याममा ४७ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएकामा शेर्पा सहयोगीसहित ६०० हाराहारीले सगरमाथा आरोहण गरेका थिए । नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका थिए ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एड्मन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।
सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँले वसन्त ऋतुको आरोहणमा सगरमाथाको दुई पटक क्रमशः जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोड्नुभएको थियो ।

यस्तै पासाङ दावा शेर्पाले यही यामसम्ममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले यही याममा दुई पटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराउनुभएको हो । दुबै खुट्टा नभएका पूर्वव्रिटिस गोर्खा सैनिक हरि बुढामगरले यसै याममा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ । गत जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाउनुभएको हो ।

रासस