नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार (साइलेज) को उत्पादन सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार (साइलेज) को उत्पादन सुरु गरेको हो ।

नगरपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमसँगको साझेदारीमा रु दुई करोड ५० लाखको लागतमा उद्योग स्थापना गरी साइलेज उत्पादन सुरु गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । उद्योग स्थापनाले नगरपालिकासहित वरपरका पशुपालक कृषक लाभान्वित हुने तथा पशुपालनमा किसानलाई आकर्षित गर्न सकिने नगरप्रमुख न्यौपानेले बताउनुभयो । “उद्योग स्थापनाले हाल पशुपालन गरिरहेका कृषकलाई सबैभन्दा बढी लाभ हुन्छ”, उहाँले भन्नुभयो, “पशुपालन गर्न चाहने नयाँ कृषकलाई पनि सुविधा हुने हुँदा पशुपालनतर्फ आकर्षण बढाउन अपेक्षा गरेका छौँ ।”

पशुपालनमा लागत घटाउँदै किसानको आम्दानी बढाउन यो योजनाले सहयोग पुग्ने विश्वास रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ । नगरपालिकाले उत्पादन गरेको पशु आहार पशुपालक कृषकलाई सहुलियत दरमा बिक्री गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो । पछिल्लो समय कतिपय पशुपालक कृषक पलायन हुने अवस्थामा पुगेका जनाउँन्दै उहाँले भन्नुभयो, “पशुपालनमा उत्पादन लागत धेरै हुनु र आम्दानी कम हुने भएकाले कृषक पेसाबाट पलायन हुँदै गएका छन् । रासस