नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकनमा विशिष्ट व्यक्तिहरूको चासो र अभिरुचि देखिएको छ । विगतका वर्षमा गरिएका कला प्रदर्शनीमा सीमित व्यक्तिले अभिरुचि देखाउने गरेका गुनासाका बीच यसपालि भने पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, नेता, कूटनीतिज्ञ, कलाकार तथा सामाजसेवीको अवलोकनमा अभिरुचि देखिएको हो ।

कला प्रदर्शनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनन भ्रमण गर्नुभएको थियो । गणतन्त्र दिवसका अवसर पारेर यही जेठ १५ गतेदेखि आज ३० गतेसम्म आयोजना गरिएको प्रदर्शनीमा सोमबारमात्रै अर्थमन्त्री डा प्रकाशशरण महत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि अवलोकन गर्नुभएको थियो । उहाँहरूले कलाले आर्थिक विकाससँगै संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान गर्ने प्रतिक्रिया दिनुभएको छ ।

यस्तै प्रदर्शनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरी, पूर्वमन्त्री हिसिला यमी, पूर्वडिआइजी रमेश खरेल, विभिन्न दलका सांसद, योजना आयोगका सदस्य, विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले पनि प्रदर्शनी अवलोकन गर्नुभएको छ ।

कलाकार मोहन निरौला, रविन्द्रसिंह बानियाँ, निर्मल शर्मा, धिरेन शाक्य, रेजिना उप्रेती, सरोज खनाल, अशेष मल्ल, साहित्यकार अभि सुवेदीले पनि कला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको थियो । प्रदर्शनीमा कला, साहित्य, सङ्गीत तथा नाट्य र चलचित्र क्षेत्रका विशिष्ठ व्यक्तिको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

यस्तै नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरी, इजरायली राजदूत हनान गोडर, ब्राजिलका राजदूत कार्लाेस अल्ब्रेट्रो मिचेल्सन दिन हार्ताेजी तथा पूर्वनेपाली राजदूतले पनि अवलोकन भ्रमण गर्नुभएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।

प्रदर्शनीमा हालसम्म ५० भन्दा बढी विद्यालयका विद्यार्थीले सहभागिता जनाइसकेका छन् । आजसम्म प्रदर्शनीमा झन्डै ३५ हजार बढीले अवलोकन गरेको अनुमान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा छ सय ९५ सिर्जना समावेश छ । रासस